‘जनै हराएको बाहुन’को शुभमुहूर्त, भोलिबाट छायांकन सुरु

२३ चैत २०८१ ८:४०

हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति थियो । बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए ।

भोलिबाट छायांकन सुरु हुने यो चलचित्रमा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ । निर्माण टिमका अनुसार भोलि काभ्रेपलान्चोकको पनौतीबाट चलचित्रको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।

‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।

शुभमुहूर्तपछि मिडियासँग संक्षिप्त कुरा गर्दै अभिनेत्री मिरुनाले भनिन्, ‘यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी, सम्पूर्ण टिमलाई नै धन्यवाद भन्न चाहन्छु । यसमा मेरो क्यारेक्टर मेरो लागि विशेष छ ।’ उनले भनिन्।

निर्देशक मनिष राउत एसोसियट रहेको यो चलचित्रमा भानुभक्त ढकालको कथा, पटकथा र संवाद, विमल न्यौपानेको निर्माण, थानेश्वर गौतम र एसडी योगीको संगीत रहनेछ। नविन गुरुङले छायांकार गर्ने यो चलचित्रलाई ४० दिनसम्म खिचिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *