काठमाडौं तथा आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्र ‘कुस्ती’ को इन्डक्ल्याप गरिएको छ । छायांकनको ३९ औँ दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए ।
छायांकन अगावै सार्वजनिक थिम पोस्टरका कारण चर्चामा रहेको चलचित्रमा अभिनेता धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली चलचित्र हो । निर्देशकका अनुसार, अन्तर्राष्ट्रिय वितरकबाट फिल्मको प्रदर्शन अधिकार खरिदका प्रस्तावहरू आइरहेको बताउदै छिटै विदेश प्रदर्शन तय गर्ने जानकारी दिए ।
धिरज र मिरुनाको जोडीलाई एकसाथ पर्दामा हेर्ने नेपालसँगै प्रवासी नेपाली पनि उत्साहित छन् । निर्देशक योञ्जनका अनुसार केही देशमा चलचित्रको प्रदर्शन अधिकार सम्बन्धी छलफल अन्तिम चरणमा छ ।
प्रेम कथानक कमेडी ड्रामामा निर्माण गरिएको यो चलचित्रले प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गर्न बाध्य जोडीको कथा भन्छ । यो चलचित्र एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो।
चलचित्रमा उमङ्ग शाहीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहेको छ । यो चलचित्र आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।