‘के घर के डेरा : घर नं २’को टिजरमा प्रेम, वियोग र मानसिक यातना
२८ चैत २०८१ ९:३३
आगामी जेठ २ गते प्रदर्शनमा आउने दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायत मुख्य कलाकारले स्पेश पाएका छन् ।
सार्वजनिक टिजरमा आम नेपाली निम्न बर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ । काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गरेको छ । पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा साटेको देखाएको टिजरले सामनजिक कथावस्तु सिनेमाले उठाउने प्रष्ट पारेको छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । कृष्णबहादुर थापाको छायांकन रहेको यो चलचित्रको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।