यहि वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले चलचित्रको यथार्थवादी स्वाद प्रस्तुत गर्छ । यसमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको स्वर छ ।
सार्वजनिक गीतको भाका र शब्द निकै नै मीठो छ । जसका कारण, यो गीतले दर्शकको मन जित्न सक्ने अनुमान गरिएको छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की र मिरुना मगर फिचर्ड छन्।
आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र हो । विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।
सुजन चापागाईँ गीत निर्देशक रहेको चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् । सुरज कटुवाल सह-लेखकका रूपमा रहेका छन् । सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै धागोमा बाँध्ने प्रयास गरिएको निर्देशक चौहानले बताए ।