आउँदै गरेका नयाँ एक्सन हिरो

२ वैशाख २०८२ १३:४५

जेठ ९ गते रिलिज हुने ‘नरसिंहा अवतार’ले नेपाली रजतपटलाई नयाँ एक्सन हिरो दिँदैछ। एक्सन हिरोका रूपमा देखा पर्न लागेका अभिनेता हुन्– राज कटुवाल। नेपाली चलचित्रवृत्तमा यो नाम नयाँ होइन, तर जेठ ९ गतेपछि उनले नयाँ परिचय पाउनेछन्—एक्सन हिरो राज कटुवाल।

झण्डै हराइसकेको अवस्थामा, यस वर्ष एक्सनले धमाकेदार पुनरागमन गरेको छ। यही सिलसिलामा राज पनि सहभागी हुन लागेका हुन्, तर हतारमा होइन। उनले यसका लागि पूरा तयारी गरेका छन्।

राजसँग एक्सन हिरो हुन आवश्यक माचो लुक्स र शारीरिक बनावट छ। यसै चलचित्रका लागि उनले आफ्नो शरीरलाई अझ सुगठित बनाएका छन्। साथै, मिक्स्ड मार्सल आर्टको पर्याप्त तालिमसमेत लिएका छन्।

उनको यस्तो तयारीले ‘नरसिंहा अवतार’ राजका लागि उपयुक्त रिडेब्यू फिल्म हुने देखिएको छ। हाल प्राविधिक तयारीको चरणमा रहेको यो फिल्मले सिनेवृत्तमा राम्रो चर्चा बटुल्न थालिसकेको छ।

राज पनि आफ्नाे रिडेब्यूलाई लिएर निकै उत्साहित छन्। चलचित्र क्षेत्रमा बिताएका १५ वर्षपछि, यसपटक उनी “एउटा मौका पाउँ, अनि म मेरो क्षमता देखाउँछु” भन्ने दृढतासहित प्रस्तुत हुँदैछन्।

“१५ वर्ष भयो म यस क्षेत्रमा लागेको, तर मैले मेरो क्षमता के हो भन्ने कुरामा कहिल्यै गहिरो गरी सोचिनँ। सायद त्यो उमेरकै लहड थियो। यसपटक भने मैले आफूलाई पटक–पटक चुनौती दिएको महसुस गरेको छु,”

राज भन्छन्,

“मैले १५ वर्ष पुरानो मेरो यात्रा बिर्सेर, आफूलाई जिरो मानें। म केही होइन, मलाई कसैले चिन्दैन भन्ने सोचेर मैले अझै बढी मेहनत गरिरहेको छु। यसपटकको प्रयासलाई म एउटा उत्कृष्ट अवसरका रूपमा प्रमाणित गर्न चाहन्छु।”

साँचो हो— जीवनमा मौका कहिले र कसरी आउँछ, भन्न सकिँदैन। त्यसैले मौका चिन्न र त्यसलाई उपयोग गर्न चनाखो हुनुपर्छ। राज पनि यही चनाखोपनका साथ ‘नरसिंहा अवतार’लाई आफ्नो करियरको क्याटालिस्ट बनाउने दृढताका साथ लागेका छन्।

साँचो त हो—बीचमा उनले हारजस्तै पनि मानेका थिए। गरेका कामले सोचेजस्तो नाम नदिएपछि केही समय ओझेलमा परे। तर चलचित्र विकास बोर्डको सदस्य बनेपछि, चलचित्रकर्मीहरूबाट पटकपटक अभिनयमा फर्कन सुझाब आएपछि, उनले आफूलाई फेरि परिक्षामा उभ्याउने निर्णय गरे।

बोर्डमा रहँदा धेरैले “तपाईंले फेरि सिनेमा खेल्नुपर्छ” भनेर हौस्याएपछि, उनी पुनः अभिनयमा फर्किन प्रेरित भएका हुन्।

तर उनले “सिनेमामा गरिस्” भन्नु भन्दा “गरें” भन्न सक्ने परिणाम निकाल्न चाहन्थे। किनभने आजको सिनेमा परिवेश, दर्शकको रुचि र अपेक्षाहरू परिवर्तन भइसकेका छन् भन्ने कुरा राजलाई थाहा थियो।

“सिर्फ ‘आएँ’ भनेर आउने होइन भन्ने सोच थियो। म कसरी, कुन प्रकारले आउँछु भन्ने विषयमा मेरो मुख्य ध्यान थियो। त्यसैले कुनै पनि प्रस्ताव तत्काल स्वीकार गर्ने मनसाय थिएन। अनि मलाई जीविकोपार्जनकै लागि सिनेमा खेल्नुपर्ने बाध्यता पनि छैन। त्यसैले राम्रो कथा, राम्रो निर्देशकको पर्खाइमै थिएँ,”

राज स्पष्ट पार्छन्।

अन्ततः ‘नरसिंहा अवतार’ नै उनका प्रश्नहरूको उत्तर र चाहनाको मूर्तरूप बनेर आयो। दिवाकर भट्टराईको निर्देशनमा बनेको यो फिल्म आफ्नो करियरका लागि स्मरणीय र कोशेढुंगा सावित हुने उनले विश्वास लिएका छन्।

“यसपटक सबै कुरा मिल्दै आएको महसुस गरिरहेको छु,”

राज भन्छन्,

“सबै कोणबाट राम्रो भइरहेको छ, त्यसैले म धेरै आशावादी छु।”

राजसँगै यो फिल्ममा राजेश हमाल पनि लामो समयपछि महत्त्वपूर्ण भूमिकामा देखिँदै छन्। राज, हमालसँग स्क्रिन सेयर गर्न पाउँदा निकै उत्साहित छन्। दुबैको अभिनयले फिल्ममा विशेष चर्चा पाउने उनको अनुमान छ।

“जसलाई आदर्श मानेर अभिनय गर्ने सपना बन्यो, उहाँसँगै काम गर्न पाउनु दुर्लभ अवसर हो। सपना साकार भएको जस्तै लागेको छ। उहाँबाट सबैभन्दा महत्त्वपूर्ण कुरा सिकें—सुपरस्टार हुँदा पनि जुन धरातलमा उभिनुपर्ने हो, त्यो नबिर्सनु पर्ने रहेछ। उहाँको कामले यसपटक विशेष चर्चा पाउनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *