कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कार्की साईला’को आज शुभ साइत गरिएको छ । सोमबार निर्माणपक्षले कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै शुभ साइत गरेको हो ।
यहि वैशाखको २० गतेबाट छायांकनमा जान लागेको यो चलचित्रका मुख्य दुई कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले शुभ साइत समारोहमा मुहूर्त सर्ट दिएका थिए ।
भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको यो चलचित्रमा बालकुमार राइको लगानी छ । चलचित्रमा राजु किराँतीको एक्सन, बाबुल गिरीको संगीत, कमल राइको नृत्य, अजित लामिछानेको पटकथा तथा संवाद रहनेछ । ग्रामीण जीवन बाँचिरहेका भुइँ मान्छेको कथा भन्ने यो चलचित्रमा जितु एक भरियाको भूमिकामा देखिदैछन् ।
राजेन्द्र बस्नेतले निर्देशन गर्ने यस चलचित्रमा जितु र वर्षाको साथमा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतको अभिनय रहनेछ । यो चलचित्रको छायांकन धनकुटा जिल्लाको विभिन्न स्थानमा गरिने जनाइएको छ।