यहि वैशाख २६ गते प्रदर्शन हुने चलचित्र ‘जार’ले नेपाली सिनेमालाई नै उचाइ दिने निर्माणपक्षले बताएको छ । ‘जार’ रिलिज भएपछि नेपाली चलचित्र उद्योग एक खुड्किलो माथि उक्लिने निर्माणपक्षको दाबी छ ।
निर्देशक फूर्वा छिरिङ लामाका अनुसार यो चलचित्र विषय, प्रस्तुति र प्राविधिक रूपमै बलियो छ। ‘विषयका हिसाबले हामीले अब्बल र नेपाली समाजले भोगेको विषय उठान गरेका छौँ । त्यसैले यसलाई म हरेक समाजको कथा भन्न रुचाउँछु,’ लामाले भने, ‘प्राविधिक पक्ष पनि उत्तिकै बलियो रहनेछ । प्राविधिक पक्ष बलियो होस् भनेर पोस्ट प्रोडक्सनको कतिपय काम हामीले भारतमा गरेका छौँ ।’
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र हो । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई यो चलचित्रमा समेट्ने निर्देशक लामा बताउँछन् । यो चलचित्र मात्रै नभएर नेपाली समाजको दस्तावेज पनि भएको उनको भानाइ छ ।
होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिकामा छ । गीताञ्जली ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन् ।
सिक्किममा छायांकन गरिएको चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत छ ।