यहि जेठ १५ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ ।
सार्वजनिक यो चलचित्रको टिजरामा खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति-पत्नीको रूपमा देखाइएको छ, जसले पैसाको समस्याका कारण पारिवारिक तनाव खेपिरहेका छन् । अभिनेत्री मलिका महत एक रहस्यमय भूमिकामा छिन्, जहाँ उनले प्रहरीसँग आफू निर्दोष भएको बयान दिइरहेकी छन् ।
अभिनेता आर्यन सिग्देललाई गाउँपालिका अध्यक्षको भूमिकामा प्रस्तुत गरिएको छ, जसले राजनीतिक तहसम्म चलचित्रको सन्दर्भलाई विस्तार गरेको देखिन्छ ।
निर्देशन दिनेश राउतले निर्देशन गरेको यो चलचित्रले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई कथानकको मूल विषय बनाएको छ । निर्देशक राउतका अनुसार, चलचित्र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक र नैतिक दबाबको यथार्थ चित्र हो, जहाँ पात्रहरू आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा छन् ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया हुन् । कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । निर्माण पक्षका अनुसार ‘महाभोज’नेपालसँगै नेपालीहरू बसोबास गर्ने अधिकांश देशमा एकैसाथ प्रदर्शनमा ल्याइनेछ ।