वैशाख १९ गते रिलिज हुने चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । जनता टिभीको सहकार्यमा निर्माण गरिएको यो चलचित्रले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा पेश गर्छ।
मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण भएको यो चलचित्रको ट्रेलरको सुरुआत विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट हुन्छ । त्यसपछि, डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामहरूलाई उजागर गरिएको छ ।
यादवकुमार भट्टराईले मिर्देशन गरेको यो चलचित्रकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय छ।
चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । यो चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् ।